Tuesday, January 19, 2016

कसरी बच्ने चिसोबाट? हालसम्म चिसोका कारण ७१ जना बिरामी भएका छन् । जसमा सगरमाथा अञ्चल अस्पतालमा ३५ जना उपचार गराइरहेका छन् भने नारायणी अञ्चल अस्पतालमा १३ र सेती अञ्चल अस्पतालमा १३ जना रहेका छन् । यसैगरी, सिरहा जिल्ला अस्पतालमा पाँचजना र नवलपरासी जिल्ला अस्पतालमा एकजना रहेका छन् । महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भर्ना भएका अधिकांश बिरामीहरू निमोनिया, दम, पक्षाघात, बाथका रहेको बताउँछन् । स्वास्थ्य विज्ञहरू चिसोलाई कम आकेर हेलचेक्र्याइँ गर्न नहुने बताउँछन् । चिसोका कारण धेरै रोगले आक्रमण गर्ने डा. मरासिनीको भनाइ छ । ‘निमोनिया, अर्धपक्षाघात, बाथजस्ता रोगहरूले चिसोको मौका पारेर नै आक्रमण गर्छ,’ उनी भन्छन् ‘चिसोलाई कम आक्नुहुँदैन, ज्यानै पनि लिन सक्छ ।’ जाडोको समयमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा दीर्घ रोग भएकाहरूले बढी सचेत हुनेपर्नेमा उनको जोड छ । जाडोले पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धाहरू बढी प्रभावित पाइएको महाशाखाले जनाएको छ । ‘वृद्धवृद्धाहरू र केटाकेटीमा रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ, त्यस्तो बेला बालबालिकाहरूमा निमोनिया, दम, रुघाखोकी बढी देखिन्छ भने वृद्धवृद्धाहरूमा हृदयाघात, अर्धप्यारालाइसिस, बाथ बढी देखिने गरेको छ,’ निर्देशक मरासिनी बताउँछन् । वरिष्ठ छाती रोग विशेषज्ञ डा. अर्जुन कार्की अन्य मौसममा भन्दा जाडो मौसममा हृदयाघातका बिरामीको संख्या बढी हुने बताउँछन् । उनी भन्छन्, ‘विभिन्न अध्ययनले जाडोको समयमा ५० प्रतिशत बढी हृदयारोगका बिरामी बढेको देखाउँछ ।’ चिसो मौसममा शरीरले तापक्रम बढी खोज्ने हुँदा शरिरलाई बढी प्रतिरोधात्मक शक्तिको अवश्यकता पर्ने बताउँछन् । ‘आवश्यक मात्रामा प्रतिरोधात्मक शक्ति उत्पन्न हुन सकेन भने विभिन्न रोगहरूले आक्रमण गर्छ ।’ उनले भने, ‘जाडो बेला रगतको सञ्चार बढी हुन्छ, त्यसले नसा फुल्ने र खुम्चने गर्दछ, त्यतिबेला बढी शक्ती चाहिन्छ ।’ शरीरले आवश्यक शक्ति उत्पन्न गर्न नसके चाहिएको जति तापक्रम उत्पन्न गर्न नसक्ने उनी बताउँछन् । मानिसको शरीरमा ९५ डिग्री तापक्रमभन्दा कम भए चिसोले सताएको मानिन्छ । त्यो क्रम जति कम हुँदै गयो त्यति जोखिम बढ्दै जाने डा. कार्की बताउँछन् । त्यस्तो अवस्थामा रगत बाक्लो हुने र रक्तसञ्चार असहज हुँदै जाने उनको भनाइ छ । रगत धेरै बाक्लो भएर रक्तसञ्चार रोकिएर प्यारालाइसिससमेत हुने हुन्छ । त्यसका साथै रुघाखोकी, क्लोनिक ब्रोङ्क्राइसिस, चिसोको झाडापखाला लाग्ने सम्भावना पनि बढी हुने गर्दछ । डा. कार्कीका अनुसार चिसोले क्लोनिक ब्रोङ्क्राइसिसका बिरामीहरूको संख्या पनि बढ्दै गएको छ । जाडोको समयमा तातो पार्नलाई कोठामा हिटर, ब्रिकेट बाल्ने गरेको र त्यस्तो बाल्दा हावा नछिरेका कारण निसास्सिएर समेत मान्छेको मृत्यु हुने गरेको उनी बताउँछन् । ब्रिकेट बाल्दा कार्बोहाइड्रेड उत्पन्न हुने र बन्द कोठामा अक्सिजनको आवातजावत गर्न नपाउने हुँदा निसास्सिएर मृत्यु हुने गरेको राजधानी दैनिकमा खबर छ कसरी बच्ने चिसोबाट? विज्ञहरूले चिसोका कारण लाग्ने रोगहरूबाट बच्न न्यानो लुगा लगाउनु नै प्रमुख सुरक्षा रहेको बताउँछन् । त्यसका साथै झोलयुक्त खानेकुरा खाने, बस्ने कोठालाई न्यानो बनाइराख्ने, हल्का किसिमको व्यायम गर्ने गर्दा शरीरको तापक्रम सन्तुलित हुन मद्दत गर्छ । त्यसैगरी, चिसोको समयमा हुने दुर्घटना कम गर्न सवारीसाधन बिस्तारै हाक्ने, हिटर वा चुलो बालेको कोठामा भेन्टिलेटर खुला राख्ने, आगो बालेको ठाउँमा केटाकेटीलाई मात्र छोड्न नहुने डा. मरासिनी बताउँछन् ।